काठमाडौँ - नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ। ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते कार्यक्रम आयोजना हुँदैछ।
दुई देशबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पुर्याउने उद्देश्यका साथ चलचित्र निर्माण, प्रबर्द्वन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ। प्रदर्शन पश्चात चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरूसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन्।
चिनिया चलचित्र ‘हर स्टोरी,’ ‘मिडसमर्स भ्वाइस,’ ‘जीफर ग्याप’ प्रदर्शन हुने छ। नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिष्ट पदाधिकारीका साथै नेपाली चलचित्रकर्मीकाे उपस्थिति रहनेछ।
‘चाइना फिल्म डे’ को महत्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताए। उनले भने, ‘यसले चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्नेछ।’