Harsamaya
आपराधिक गतिविधिहरूको अनुसन्धान हुन्छ, संलग्नहरु कारबाहीमा आउँछन् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखक ।

काठमाडौं - गृहमन्त्री रमेश लेखकले शुक्रबारको आपराधिक चरित्रका गतिविधिहरूको अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् । 

शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन गर्दै उनले सञ्चार गृहमाथि आक्रमण गर्ने, गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने निजी र सरकारी सम्पत्ति ध्वस्त गर्ने जुन काम भयो त्यो आपराधिक भएको भन्दै यसमा अनुसन्धान गर्ने बताएका हुन् ।

उनले घाइते भएका मानिसको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्ने बताए ।

उनले भने, ‘मानिस घाइते भएका छन् उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरूका लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्छ र हिजो जुन आपराधिक घटना भएको छ । सञ्चार गृहमाथि आक्रमण गर्ने छानी छानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने निजी र सरकारी सम्पत्ति ध्वस्त गरेर जुन चरित्रको प्रदर्शन भयो त्यो आपराधिक चरित्र हो र यसमा कानुन अनुसार अनुसन्धान गरेर कारबाही हुन्छ ।’

यस्तै, उनले प्रदर्शनका नाममा भएका गतिविधिहरूको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग टाढा टाढासम्म साइनो नभएको पनि बताए । 
उनले भने, ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरू भएका छन् । यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग टाढा टाढासम्म पनि साइनो छैन । यो आपराधिक र अमानवीय घटना भएको छ । त्यो पनि यो यो ठाँउमा आक्रमण गर्ने भनेर घोषणा गरेर ती कामहरू भएका छन् । मानिस घरभित्र छ भनेर थाहा हुँदा हुँदै बाहिरबाट आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ, प्रहरीले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने क्रममा बल प्रयोग गर्नुपर्ने भयो र अर्कोको पनि ज्यान गयो । त्यसमा दुःख लागेको छ ।’

लोकतान्त्रिक गणतन्त्रका पक्षधर पार्टीहरूका कार्यालय, मिडिया हाउसहरू र सपिङ् कम्प्लेक्सहरूलाई मुख्य केन्द्रित गरेर कामहरू भएको पनि उनको भनाई छ । 


 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update