
काठमाडौं - राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनले काठमाडौंको शान्त वातावरणमा ठूलो आँच पुर्याएको छ। पूर्वराजाका समर्थकद्वारा शान्तिपूर्ण प्रदर्शनको नाममा सुरु भएको आन्दोलन हिंस्रक बन्दा दुई जनाको ज्यान गएको र सयभन्दा बढी व्यक्तिहरू घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सार्वजनिक गरेको विवरण अनुसार प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा सार्वजनिक यातायातका सवारी साधनमा व्यापक तोडफोड गरेका छन्।
तीनकुनेको अशान्ति मध्य एक दर्दनाक मोडमा पुगेको थियो जब कीर्तिपुर–४ निवासी सविन महर्जनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भयो। अर्का पत्रकार सुरेश रजक मार्बल हाउसमा मृत फेला परेका छन्।
प्रहरी विवरणअनुसार नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरीका २२ जना र प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी अपीलराज बोहराका अनुसार नौ वटा सरकारी सवारी साधन र ६ वटा अन्य सरकारी वा निजी सवारीमा आगजनी भएको छ। साथै, १४ स्थानमा आगजनी, नौ संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको पुष्टि गरिएको छ।
पूर्वअनुमतिसहित गरिएको भनिएको प्रदर्शन कसरी नियन्त्रण बाहिर पुग्यो भन्ने प्रश्नले अहिले सुरक्षानिकाय र जनमानस दुवैलाई सोच्न बाध्य पारेको छ। घटनापछि काठमाडौंको सुरक्षा अवस्था कडा बनाइएको छ भने दोषी पहिचान गर्न प्रहरी अनुसन्धानमा जुटेको छ।