
काठमाडौं - नेपाली काँग्रेसले तीनकुने लगायतमा भएको शान्तिपूर्ण प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाको निन्दा गरेको छ । एक विज्ञप्ति जारी गर्दै व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको हो ।
‘लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनर्स्थापित गरेको थियो । संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरुको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।’
नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव रहेको पनि काँग्रेसको भनाइ छ ।
‘नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं । हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील समेत गर्दछ’ , विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली कांग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि काँग्रेसले आग्रह गरेको छ ।