
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालोमुनि राखेर हैकम चलाउने सामन्तीहरूको अन्त्य आवश्यक रहेको औँल्याएका छन् ।
शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई प्रभुहरूको र सामन्तहरूको खाँचो नभएको बताएका हुन् ।
उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन । केही मान्छेहरूले केही तत्वहरूले अहिले फेरी गणतन्त्र उल्टाएर राजतन्त्रको वकालत गरिरहेका छन् । राजतन्त्र फर्काउने कुरा गरिरहेका छन् । हामी चुनौती दिन चाहन्छौ यहाँ प्रभुहरूको खाँचो छैन । हामीलाई सामन्तहरूको खाँचो छैन । जनतालाई पैतालोमुनि राखेर हैकम चलाउने सामन्तको खाँचो छैन । धेरै त्याग गरेर परिवर्तन यहाँसम्म आएको छ । तर हामीलाई यही पुँजीवाद पनि खप्न गाह्रो भएको छ । पुँजीपतिहरूले नेपाली जनताको बलिदान र त्यागबाट आएको परिवर्तनमा कब्जा जमाएर नेपाली जनतामाथि दमन गरिरहेका छन् ।’
उनले सामन्ती तत्हरूका बचेखुचेको तत्वहरूले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेको भन्दै गणतन्त्रसम्म आउँदा जनताको सबै आकांक्षा पूरा भएको आफूले बुझेको पनि बताए ।
‘हराइएका, जनताको बलद्वारा धूलो पारिएका सामन्ती तत्वहरूका बचेखुचेको तत्वहरूले षडयन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन्, हामीले बुझेका छौं,’उनले भने ।
यस्तै उनले नेपालको राजनीतिक यात्रा गर्दै आउँदा चौबाटोमा आइपुगेको र नेपाली जनताले सही बाटो रोज्नुपर्ने बताए ।