Harsamaya
गरुडा आगलागीमा सात घर जले, १३ लाख २० हजारको क्षति
गरुडा तरकारी बजारमा आगलागी ।

रौतहट - रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागीमा करिब १३ लाख २० हजार बराबरको क्षति भएको छ ।

गरुडा नगरपालिका वडा नम्बर ४ स्थित तरकारी बजारमा शुक्रवार बिहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

पसलमा खाना पकाउने क्रममा सल्किएको आगोले सात वटा फुसको घर पूर्वरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए । 

उनका अनुसार गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा एक लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल र सुजितकुमार चौधरीको खाजा पसलमा गरी ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरिया बस्ने सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख बराबरको क्षति भएको छ । 

गौर नगरपालिकाबाट आएको वारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update