Harsamaya
२ अर्ब बराबर अनलाइन जुवा खेलाउने ११ जना भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् । 

बूढानीलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणासमेत ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।  

बूढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न  ११ जना भारतीयहरूलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ । 

साथै, उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रुपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update