Harsamaya
‘विश्वभर नेपाली फिल्मको बजार राम्रो छ’
फिल्म ‘प्रेमा’का निर्माता एवम निर्देशक गोविन्द सिंह भण्डारी । ग्राफिक्स: हर समय

यतिबेला मेरो व्यस्तता फिल्म ‘प्रेमा’ को प्रवर्द्धनमा केन्द्रित छ । इन्डियन ओटीटी प्लेटफर्ममा लागिसकेकाले थप प्रचार गरिरहेको छु । यो फिल्म नेपालमा प्रदर्शन भइसकेको छ । यो रोमान्टिक ड्रामा हो । कलाकार अरुण क्षेत्री, सुभेच्छा खड्का र सृष्टि श्रेष्ठले राम्रो भूमिका निर्वाह गरेका छन् । नेपालमा लागिसकेको फिल्म भएकाले कुनै नयाँ मार्केटका लागि प्रयास गरेको हुँ । आफ्नो लगानी बचत गर्न सक्छौ र अझै विश्व बजारतिर फैलिन सक्छौं भनेर भारतीय बजारमा प्रयास गरिरहेको हुँ । इन्डियामा धेरै चिनेजानेका साथीहरू भएकाले करिब एक डेढ वर्षदेखि विभिन्न प्लेटफर्ममा ‘प्रेमा’शो गर्ने अवसर मिलेको छ । ‘हङ्गामा डट कम’, ‘एरटेल एक्ट्रिम’, ‘यमाजोन प्राइम’ र ‘स्टार प्राइम’ गरी चारवटा ओटीटीमा फिल्म लागेको छ । राम्रो प्रतिक्रिया आइरहेको छ । 

‘अमेजन प्राइम ’मा युके र अमेरिकामा बस्ने नेपालीहरूले हेर्न पाउँछन् भने ‘हङ्गामा डटकम’ र ‘स्टार प्राइम’ मा संसारभर जहाँबाटपनि एप डाउन्लोड गरेर हेर्न मिल्छ । ‘एरटेल एक्ट्रिम’मा भने भारतमा बस्ने एरटेलका प्रयोगकर्ताहरूले मात्र हेर्न मिल्छ । 

नेपालमा हलमा सोचेजस्तो भएन् । किनभने निर्माताको रूपमा मेरो पहिलो फिल्म थियो । निर्देशकपनि आफैँ थिए । बनाउने र बेच्ने दुवै आफू हुँदा अलिकति नमिलेको हो की जस्तो लाग्यो । पहिलो पटक निर्माता भएर बजारीकरण कसरी गर्ने भन्ने कुरामा म चुकेँ । त्यही भएर थ्रेटरमा खासै राम्रो भएन । तर यसमा चिन्ता छैन । जुन किसिमको बजेटमा फिल्म बनाएका थियौं, इन्डियन ओटीटीमा लाग्दा घाटामा भने गएन । 

निर्देशक र लेखक एउटै हुनु धेरै राम्रो कुरा हो । आफैले लेखेको कथा फिल्ममा उतार्न सजिलो हुन्छ । आरामले दर्शकलाई देखाउने सक्ने गरि पर्दामा उतार्न सकिन्छ । निर्माता बन्नु भनेको जटिल काम नै रहेछ । हामी त कलाकार हो, निर्देशकपनि एक प्रकारको कलाकार नै हो । निर्माता भनेको पुरै व्यवसायी हुन्छ । उनीहरूलाई व्यापारिक ज्ञान हुन्छ । सुरुवातमा निर्देशक चुक्न सक्छ तर पछि काम गर्दै जाँदा धेरै जना सफल भएकापनि छन् । कुन फिल्म चल्छ र कुन चल्दैन भन्ने कुरा एकदमै जटिल कुरा हो । कसैले भन्न सक्दैन । विश्वको चलचित्रको इतिहास हेर्ने हो भने अर्बौको लगानी भएको हलिउड फिल्महरु पनि फल्प भएका छन् । यसको कारण सायद फिल्म सही समयमा रिलिज नहुनु होला वा कतिवटा फिल्म राम्रो नभएर होला, कतिले प्रचार प्रसार राम्रो तरिकाले गर्न नसकेर होला । मेरो फिल्म थ्रेटरमा राम्रो तरिकाले चलेन तर नयाँबजार त पाएको छ । कसैको सुरुमा चल्न सक्छ, कसैको पछि चल्न सक्छ वाकुनैले नयाँमञ्चमा बजार पनि बनाउन सक्छ ।

फिल्म लागेको धेरै भएको छैन् तर अहिलेसम्ममा प्रतिक्रियाहरु राम्रो नै छ । नेपाली फिल्म, नेपाली भाषा, अंग्रेजी सबटाइटलमा लागेको हो । हिन्दीमा होइन । त्यसकारण चलचित्रप्रेमी र नेपाली भाषा बुझ्नेहरुले पहिला फिल्म हेरेपछि, यसको चर्चा हुनथालेपछि मात्र अरु भारतीय दर्शकहरुले हेर्ने हो ।

अहिले हामी हंगामा, स्टार क्राइममा पुग्न सकेका छौं । भोलि अब हामी नेटफ्लिक्ससम्म जाने भन्ने छ ।सबैको फिल्म विश्व बजारमा आउनैपर्छ । चर्चा हुनैपर्छ । सबैले स्थान पाउनुपर्छ । पहिला युट्यूब हिन्दी डब भएका फिल्महरु हेथ्र्यौं तर अहिले भाषा नबुझे पनि तेलुगा फिल्म सबटाइटलसहित हेर्ने भएका छौं । अडियन्सलाई बानी बसाल्ने कुरा प्रमुख हो । त्यसैले नेपाली फिल्म मेकरहरूले  विस्तारै प्रयासहरू गरिरहेका छन् । हिन्दीमा डब गरेर केही फिल्महरू लागेका छन्, नेपाली भाषाका फिल्म अंग्रेजी सबटाइटलसहित लागेका छन् । यो राम्रो उपलब्धी हो । मीनभामसरले फिल्म फेस्टेवलतिर कति धेरै फिल्म लगाइसक्नुभयो । रेगुलर अडियन्सले हेर्ने फिल्महरूले धेरै स्थान पाउन सकेको छैन ।

सोसल मिडिया,पत्रपत्रिकामा आइसकेको कुराहरूलाई फिल्म बनाउँदा कुनै कानुनले रोक्न सक्दैन । फिल्मले नदेखाउने हो भने पत्रिकाले लेख्दैन नि । पत्रिकाले लेखेका कुरा पनि मान्छेले पढिरहेका हुन्छन् । पढ्न पाउने, युट्यूब हेर्ने तर फिल्ममा चाँही किन देखाउन नपाउने ? त्यसैले फिल्म देखाउन पाउनुपर्छ । हाम्रा अग्रज चलचित्रकर्मीहरुले यस विषयमा आवाजहरू समेत उठाइरहेका छन् । अन्तर्राष्ट्रिय मार्केटमा सरकारले केही पनि गर्न सक्दैन । त्यसैले सरकारले फिल्म मार्केट चाहिन्छ जस्तो पनि लाग्दैन ।

विश्वमा विभिन्न किसिमको कल्चरहरु छन्, ती फिल्महरूलाई सरकारले सहयोग गर्नुपर्छ । पछि गएर बनाउनको लागि र जोगाउको लागि केही न केही त सहयोग सरकाले गर्नैपर्छ । वातावरण सजिलो बनाइदिनपर्छ । र समग्रमा आफ्नै तरिकाले फिल्मबनाउन दिनुनै धेरै ठूलो कुरा हो । तर नेपालमा सहज छैन । कसैको नाम प्रयोग गर्न पाउँदैन, स्थानको नाम प्रयोग गर्न पाउँदैन । त्यसलाई सहजीकरण गरिदिएपछि बाँकी काम हामी आफैंले पनि गरिहाल्छौं । जुन कुरा पहिले नै मार्केटमा आइसकेको छ । 

पत्रपत्रिकामा आइसकेको छ । युट्यूब जतिबेला पनि हेर्न पाएका छौं । फिल्मको कथा भनेकै समाजबाट आउने हो । काल्पनिक कथाको पनि बेस भनेको वास्तविकता नै हो । झै–झगडा, आन्दोलन त समाजमा भइरहेको छ । त्यसलाई रोक्न सक्या छैन् । तर फिल्ममा मास दृश्य रोकिएको छ । सेन्सर गर्ने कुराहरू पनि छन् । देशको बारेमा आतंकवादी गतिविधि देखि लिएर मापदण्ड विपरीत देखाउँदा सेन्सर हुन्छ । त्यसबारे फिल्म बनाउनेले पनि बुझेका हुन्छौं । यसलाई सरकारले सहज गरिदिए राम्रो हुन्छ । फिल्म मेकरलाई सहज तरिकाले फिल्म बनाउन चाँही दिनुपर्छ । 

नेपालमा फिल्मको शोका लागि हल व्यवसायीहरूसँग सम्झौता गर्न कठिन भएको सुनिन्छ । धेरै जस्तो फिल्महरू त हलबाट निकालिदियो, स्थान दिएन भन्ने गरेको पनि सुनिन्छ । यसमा चाँही सरोकारवाला सबै जना बसेर छलफल गरेर सहजीकरण गर्नुपर्छ । नेपालमा नै नेपाली फिल्मले स्थान पाएन भने अरू के आशा गर्नु र ?

नेपाली फिल्ममा भविष्य चाँही राम्रो छ । व्यापार छैन भन्नु गलत हो । पाँच/दश बर्ष अगाडिको फिल्म मेकिङ प्रोसेस क्वालिटी हेर्ने हो भने अहिले त धेरै फड्को मारिसकेको छ । पहिला एक करोडको फिल्म बनाउँदा धेरै ठूलो लाग्थ्यो ।अहिले १० करोडको फिल्म बनिसक्यो । सम्भावनानै नदेखेर त लगानी भएको होइन् होला ।(फिल्म ‘प्रेमा’का निर्माता एवम निर्देशक गोविन्द सिंह भण्डारीसँग गरेको कुराकानीमा आधारित)


 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update