‘जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ’
धनुषा - नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरूरी रहेको बताएका छन् ।
आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा उनले जनकपुरधाम महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भए पनि व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रियस्तरको बसपार्कको आवश्यकता औँल्याएका हुन् ।
पूर्वउपप्रधानमन्त्री निधिले देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्रका रूपमा रहेको यातायात क्षेत्र र कार्यरत मजदुरको अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । विगतमा आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका निर्णयहरूले आजको यातायात प्रणालीलाई सबल बनाएको उल्लेख गरे ।
यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ २०:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय