
काठमाडौं - बुधबार सेयर बजारमा हरियाली देखिए पनि कारोबार भने अपेक्षाकृत घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०.४७ अंकले उकालो लागेर २६२३.४७ विन्दुमा पुगेको छ। बजार उकालो लाग्दा २४३ मध्ये २३१ वटा कम्पनीका सेयर मूल्य बढेका छन्, जुन हालको बजार ट्रेन्डमा सकारात्मक संकेतको रूपमा हेरिएको छ।
तर, सकारात्मक सूचकसँगै कारोबार रकम भने घटेको देखिन्छ। मंगलबार ५ अर्ब माथिको कारोबार भएकोमा आजको कारोबार ४ अर्ब १९ करोड रुपैयाँमा खुम्चिएको छ।
समूहगत सूचकमा पनि सुधार देखिएको छ। जीवन बीमा र अन्य समूहको सूचक २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा, उत्पादनमूलक, ट्रेडिङ र म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि देखिएको छ। बाँकी समूहको सूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
आजको कारोबारमा कुनै पनि सेयरमा सर्किट नलागेपनि, माउन्टेन हाइड्रो, स्वेतगंगा र मनकामना इन्जिनियरिङका सेयर ५ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। उता, उपकार लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका सेयर भने ५ प्रतिशतभन्दा बढीले घटेका छन्।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छन्। कारोबार संख्याका हिसाबले पनि हिमालयन रिइन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर अगाडि छन् भने कारोबार भएको सेयर संख्यामा सानिमा ग्रोथ फण्ड र हिमालयन रिइन्स्योरेन्स अगाडि देखिएका छन्।
बजारको सूचक र कम्पनी मूल्यमा देखिएको हरियालीले लगानीकर्तालाई केही राहत मिलेको देखिएपनि कारोबार रकममा आएको सुस्तताले बजारको स्थायित्वबारे प्रश्न उब्जाइरहेको छ।