सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा ल्याउने
काठमाडौं - सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने जनाएको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई गत महिना पदच्युत गरिएको र तत्कालिन सरकार र विद्रोहीबीचको द्वन्द्धका कारण अवरूद्ध उडान सेना सुचारू गरिएको हो ।
“मगलबारदेखि दमास्कस विमानस्थलमा अन्तर्राष्ट्रिय विमानको उडान र अवतरण गर्न सुरु गर्नेछौँ,” नागरिक उड्डयन र हवाई यातायातको सामान्य प्राधिकरणका प्रमुख अशद अल–सालिबीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सानाले उल्लेख गरेको छ ।
“हामी अरब र अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आश्वस्त पार्छौं कि हामीले हाम्रा साझेदारहरूको सहयोगमा अलेप्पो र दमास्कस विमानस्थलहरूको पुनस्र्थापनाको चरण सुरु गरेका छौं, ताकि उनीहरूले विश्वभरका उडानहरूलाई स्वागत गर्न सकून्,” उनले भने ।
अन्तर्राष्ट्रिय सहायता विमान र विदेशी कुटनीतिक प्रतिनिधिमण्डल सिरियामा अवतरण गरिसकेका छन् । आन्तरिक उडान पनि सुचारु भएको छ ।
बिहीबार कतार एयरवेजले करिब १३ वर्षपछि सिरियाली राजधानी दमास्कसमा उडान सुरु गर्ने घोषणा गरेको थियो ।
कतारका एक अधिकारीले गत महिना एएफपीलाई बताएअनुसार दोहाले नयाँ सिरियाली अधिकारीलाई दमास्कस विमानस्थलमा उडान सुचारु गर्न सहयोगको प्रस्ताव गरेको थियो ।
गत डिसेम्बर ८ मा इस्लामिक नेतृत्वको विद्रोहीले असदलाई सत्ताच्यूत गरेपछि शनिबार पहिलो उडान दमास्कस विमानस्थलबाट उत्तरी प्रान्त अलेप्पोका लागि उडेको एएफपीका पत्रकारहरूले जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय