Harsamaya
एसइई परीक्षार्थीबाट रौतहटमा १ हजार ७०६ मोबाइल बरामद, ६ निरीक्षक माथि मुद्दा
सांकर्तिक तस्वीर: हर समय/Har Samaya

रौतहट - रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाइल अनुगमन समितिले नियन्त्रणमा लिएको छ।

मंगलवार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाई छिपाई परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेक जाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। 

हालसम्म परीक्षार्थीले चिट चोराउने उद्देश्यले लागेको १७०६ थान मोबाइल बरामद गर्नुका साथै परीक्षाको मर्यादा विपरीत गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

निरीक्षकहरू माथि परीक्षाको मर्यादा उल्लंघन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेले बताएका छन्। बरामद सबै मोबाइल प्रहरीको नियन्त्रणमा रहेको तथा मोबाइल सम्बन्धी पछि निर्णय हुने उनले जानकारी दिएका छन्। विगतमा ‘न्याय नपाए गोर्खा जानु एसएलसी परीक्षा पास गर्नुभए रौतहट जानु’ भनेर सिङ्गो जिल्ला बदनाम भएको थियो।

एसएलसीबाट एसईइमा परिणत भएपछि पछिल्लो बदनामी प्रायः हटेको थियो। तर गत वर्ष देखि एसईइ परीक्षामा पनि पुरानै ढाँचा देखिएको छ। यहाँ केही शिक्षक तथा सहयोगीहरू हवाट्सअप ग्रुप बनाएर परीक्षामा चिट चोराउने गरेको कारण जिल्लामा परीक्षार्थीहरूले मोबाइलको प्रयोग गरिरहेका छन्। गत वर्ष एसईइ परीक्षामा प्रहरी तथा अनुगमन टोलीले झण्डै २ हजार मोबाइल बरामद गरेको थियो। 

परीक्षा सम्पन्न भएको करिब १ हप्तापछि बरामद उक्त मोबाइलहरु नजिकको प्रहरी यूनिटमार्फत सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको थियो। गत वर्ष चिट चोराउने उद्देश्यले परीक्षा हल भित्र लागिएको मोबाइल सेट प्रहरीले सहज रुपमा विधार्थीलाई फिर्ता गरेकै कारण यस पटक मोबाइलको प्रयोग बढेको स्वयं शिक्षकहरूको भनाई रहेको छ। 
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update