Harsamaya
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह

काठमाडौं - राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कानुनी कठघरमा ल्याउन माग गरेको छ ।  राष्ट्रिय युवा संघ नेपाल काठमाडौं कमिटीका अध्यक्ष दिपेश सुधाकरले यस्तो माग गरेका हुन् । 

उनले शाहले समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् ।

‘देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला आफ्नै कमजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरूको तलब भत्ता रोकिएको विषयलाई लिएर काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारीले तलब नपाए "टुकुचामा गाड्छु" भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमीटीको गम्भीर ध्यान आकर्षण भएको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।   

पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति नदिन पनि संघले शाहलाई सुझाव दिएको छ ।   ‘तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौं’, विज्ञप्तिमा भनिएको छ,  ‘कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update