Harsamaya
सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउनेहरू सक्रिय भएका छन् : ओली
प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरू भइरहेको बताएका छन् । 

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि परेको बताए । 

उनले भने, ‘डिजिटल नेपाल कसरी प्रभावकारी तरिकाले बनाउन सकिन्छ । नेपाललाई प्राविधिक रुपमा विकास गरेर, सेवाहरूमा पनि प्रविधिको विकास गरेर कसरी धेरै भन्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने विषयमा पनि सुझाव दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौं । केही मानिसहरू यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् ।’

यसका साथै, उनले पछिल्लो समय सरकारलाई बदनाम गर्ने र झूटलाई फैलाउने कुराहरू बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरूमा अल्झिएर नबस्ने बताए । 

उनले भने, ‘सरकार र आफू बाहेक अरूलाई कसरी बदनाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरूमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ । म यस्ता कुराहरूमा धेरै अलमल गर्न चाहान्न । हामीले देशको विकास गर्नु छ । अनावश्यक कुराहरूमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । त्यो हुन हामी तयार छैनौं । हामी आफ्ना विषयमा केन्द्रित हुन्छौ आफ्ना काममा केन्द्रित हुन्छौ र आफ्नो देश विकासको लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको छ ।’

पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको पनि उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update