Harsamaya
किसान वर्षभरि माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन : मन्त्री अधिकारी
 कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ।

काठमाडौं -  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ ।  सोमबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्वहरूसँग छलफल गरेको हो ।

उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए  । उनले किसान वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामीले यो विषयमा सोच्नुपर्ने बताए । 

उनले  भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रूपमा लान मन्त्रालय गम्भीर छ ।  जमिन छैन, मल बीउ छैन, तर गरिबीमा बाचेको छ । वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान पुग्दैन ।  त्यसैले यस विषयमा सोचौं । मध्यम खालको जसले वर्षभरि खेती गर्छ, ऊ बाँच्न सक्छ । त्यसका विषयमा पनि सोचौं । र तेस्रो कुरा व्यवसायिक किसानहरूको  पेरीफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं । नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि ।’

साथै उनले आयातको  भरले  बाँच्न नसकिने बताए । उनले  सिंगो  नेपाली बाँच्नको लागि आयातले मात्रै नहुने बताए ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update