
काठमाडौं - नेपाली काँग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचनमा आफूमाथि काँग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूले दुर्व्यवहार गरेको अध्यक्षका उम्मेदवार कल्पना खड्काले आरोप लगाएकी छिन् । उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै मतदान प्रक्रियामा सहभागी नै गर्न नदिकन चुनाव अवधिभरि प्रहरी नियन्त्रणमा राखिएको बताएकी छिन् ।
खड्काले आफ्नो फोनसमेत प्रहरीले थुतेर राखेको उल्लेख गरेकी छिन् । ‘मेरो उम्मेदवारीबारे फेसबुकमा प्रचारप्रसार गर्ने व्यक्तिहरूलाई सम्म स्पष्टीकरण सोधिने गरियो’, उनले भनिन्, ‘छुट्याइएको कोटामा हामी महिला कति दिन सिमित रहनुपर्ने हो?आज पनि महिला कार्यकारी पदमा पुग्न कति कठिन छ भन्ने उदाहरण हो ।’
उनले पितृसतात्मक सोचसँग अझै कति लड्न पर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले पितृसत्ताविरुद्ध जीवनभर लड्न तयार रहेको पनि स्पष्ट पारेकी छिन् । ‘स्पष्ट बोल्नु नै राजनीतिमा घात रैछ’, उनले भनिन्, ‘जुन महिला कार्यकारीणी पदमा चुनाव लड्न तयार हुन्छ नयाँ शिराबाट सोच्न पर्ने छ।’
संघको चैत ८ र ९ गते भएको प्रथम महाधिवेशनको चुनावी प्रक्रियामा लफडा भएको थियो । निर्देशन समितिका संयोजक मधु आचार्यले अध्यक्षका उम्मेदवारद्वयलाई प्रहरी घेरामा राखी निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । उनले प्रहरी बलको दुरुपयोग गरी निहत्था अपांगहरूमाथि अत्याचार गरेको भन्दै काँग्रेसवृतमा विरोध भएको छ ।
एकलौटी निर्वाचन प्रक्रिया पुरा गरेर संघको अध्यक्षमा माधव चौम्लागाई विजयी भएको घोषणा गरिएको छ । चौम्लागाई महामन्त्री गगन थापा निकटका हुन् । आचार्यपनि गगन निकट भएकाले जसरीपनि जिताउनै पर्ने नीति अवलम्बन गरी आचार्यले काँग्रेसले दिएको जिम्मेवारीको दुरुपयोग गरेका छन् । जसको सर्वत्र विरोध छ ।
एकपक्षीय निर्वाचनमा चौम्लागाईलाई जिताएर संघमा अर्को फुटको राजनीति आचार्यले बीजारोपण गरेका छन् । जसको मूल्य लामो समयसम्म काँग्रेसले चुकाउनुपर्ने हुन्छ । ‘सबै अट्ने काँग्रेस’ भनेर नारा दिने काँग्रेसले काँग्रेसीलाई अटाउन नसकेको र लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक चरित्र संघको निर्वाचनले पुष्टि गरेको छ ।
>