Harsamaya
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ?
यौन व्यवसायबारे चर्को बहस : व्यवस्थित गर्ने कि बन्देज ?

काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुला गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने सनसनीपूर्ण अभिव्यक्ति दिए । 

उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए । उनले भनेका थिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिकालागि योगदान पुग्छ ।’ घिमिरेले दिएकाअभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउँदै कारबाहीको माग समेत गरे ।

यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनकालागि रुलिङको माग नै गरिन् । 

उनले भनिन्,‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भर्त्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’

यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचित भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासकालागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।

प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालीन प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङले राजीनामा नै माग गरेकी थिइन् । 
तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो । 

यसअघि तत्कालीन कानुन मन्त्री समेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौनधन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन । 

यद्यपि, यौन पेशालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरूको विषयलाई मानवअधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।

यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरूको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरूलाई लिएर सेक्स वक्रहरूलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् । 

यौन श्रमिकहरूको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय रहेकाले उनीहरूले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् । 

उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरूको आवाजलाई सम्मान गर्नुपर्ने उनको धारणा छ । 

‘नेपाल सरकारको तथ्याङमा यौन श्रमिक महिलाहरू ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय छ । माननीयज्यूहरूले उठाएको कुरा गलत भन्न मिल्दैन । कुरा सही हो ।नेपालको कानुनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वेच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रूपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’उनले भनिन् ।

उनले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्बन गरेको भन्दै यौन श्रमिकहरूको हककालागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताइन् । 
यस्तै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताए । 

‘यहाँ एउटा वर्ग छ, जो चाहिँ पिडामा छ । जसको अधिकार चाहिँ राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’उनले भने ।

‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत नेपाल सरकारले तथ्यांक निकाल्छ । जसअनुसार करिब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरू समस्या विकराल छ यसलाई व्यवस्थापन गर्नुपर्ने समयमा संसदमा उठ्यो । अव पोजिटिभ आउला भनेको दबाइयो ।’ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरेको पनि बताए ।

यता, प्रहरीले यौनधन्दामा संलग्नलाई पक्राउ गरेर प्रायःमानव बेचबिखन विरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरुको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराधअन्तर्गत मुद्दा चलाइने गरेको छ । यौनधन्दाका विषयमा स्पष्ट कानुन अभाव छ ।

कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसायबारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताए । कानुनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक हो कि भनेर अनुमान पनि लगाउन सकिने उनको जिकिर छ ।

मनिषा बस्नेत


 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update