Harsamaya
अपाङ्ग संघको चुनावी लफडा : तत्काल मत गणना र प्रक्रिया रद्द गर्न अलग अलग माग
संघका अध्यक्ष उम्मेद्वार कल्पना खड्का र विकास थापा

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व परिवर्तनका लागि मतदान भएपनि मतगणनाको प्रक्रिया अझै सुरु हुन सकेको छैन । 

चुनावी प्रक्रिया साधारण निर्वाचन प्रक्रियाअन्तर्गत नभइ धाँधलीपूर्ण भएको भन्दै असन्तुष्ट पक्षले निर्वाचन बहिस्कार गरेपछि मतगणनाको प्रक्रिया अझै सुरु हुन नसकेको हो ।

संघका अध्यक्ष उम्मेद्वार कल्पना खड्का र विकास थापाले आफूहरूलाई प्रहरीको घेरामा राखी अध्यक्ष पदका अर्का उम्मेद्वार माधवप्रसाद चम्लागाईंले आफ्नो नाममा मात्र एकलौटी निर्वाचन गराएको आरोप लगाएका छन् । 

आइतबार अध्यक्षका उम्मेद्वार खड्काले एउटै व्यक्तिले १० पटक भोट हाल्ने,उम्मेद्वारसँग कुनै मुचुल्का नबनाइकन चुनावी क्षेत्रबाट बाहिर राख्ने जस्ताकार्य गरेर एकलौटी अधिवेशन गराइएको आरोप लगाइन् । उनले चुनावी प्रक्रिया रद्दको माग गरिन् ।

उनले चुनावी प्रक्रिया साधारण निर्वाचन प्रक्रिया अन्तर्गत पनि नरही सम्पन्न भएका कारणआफू र अर्का अध्यक्षका उम्मेदवार विकास थापाले चुनावी प्रक्रिया रद्दमा ऐक्यबद्धता जनाएको जानकारी दिइन् । 

‘हामी तीन जना अध्यक्षको उमेद्वार तीनवटा प्यानल बनाएर उठेका थियौं । निर्देशन समितिको निर्देशनमा दुई जना उम्मेद्वारलाई बाहिर प्रहरीको घेरामा राखेर उहाँहरुले एकलौटी एकजना उम्मेद्वारको नाममा मात्र मतदान गरेको हुँदा त्यसको बहिस्कार गरेका हौं, चुनावी प्रकृया स्थगित गरेका हौं,’ उनले भनिन्,‘चुनाव साधारण निर्वाचन प्रक्रियाअन्तर्गत भएको छैन । एउटै व्यक्तिले १० पटक भोट हालेका छन् । उम्मेद्वारसँग कुनै मुचुल्का नबनाइकन चुनावी क्षेत्रबाट बाहिर राखेर एकलौटी अधिवेशन गरिएको छ । त्यसैले हालको चुनावीप्रक्रिया रद्दको माग गर्दछौं ।’

वर्तमान निर्देशन समिति नै भंग गरेर नयाँ निर्देशन समिति बनाई नयाँ सिराबाट अधिवेशन गराउनुपर्ने आफूहरूको ऐक्यवद्धता रहेको उनले बताइन् । त्यस्तै यता अर्का उम्मेद्वार माधवप्रसाद चम्लागाईंले भने राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना तत्काल सुरु गर्न माग गरे ।

कांग्रेसको कार्यसम्पादनको बैठक बसिरहेको भन्दै चाँडै नै मतगणना सुरु हुने उनको विश्वास छ । मत गणना सुरु गर्ने बाहेक यसमा अरु कुनै विकल्प नरहेको उनको दाबी छ । 
उनले भने,‘अब कुन प्रक्रियाबाट निर्वाचन हुन्छ भन्ने होइन्,निर्वाचन सकिसकेकाले मत गणना सुरु गर्नुपर्छ । आम मतदाताहरुको पनि के होला परिणाम भनेर चासो छ । मत गणना गर्ने नै हो । यसमा अरू कुनै विकल्प हुन्छ होला भन्ने विश्वास छैन् ।’

संघको महाधिवेशन गराउन पार्टीका तर्फबाट निर्देशन समितिको संयोजक बनाइएका केन्द्रीय सदस्य मधु आचार्यले निर्देशन समितिका अन्य सदस्यहरू पार्टीका केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमयको सहमतिबिना निर्वाचन प्रक्रिया अगाडि बढाएर मनलाग्दी गरेको आरोप लागेको छ ।

शनिबार संघको प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न भएको मतदानमा ४७० मत खसेको थियो । कुल ८९२ मतदाता रहेको संघमा ४७० मत खसेको हो। महाधिवेशनमार्फत ३९ जनानिर्वाचित १२ जना मनोनीत गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।


 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update