Harsamaya
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध
जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध ।

जनकपुर -  जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । आइतबार बसेको बैठक सुरु भएलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक संसद अवरुद्ध गर्ने घोषणा गरे । 

उनले मुख्यमन्त्री सतिश कुमार सिंहले कुटनीति मर्यादा विपरीत विदेश गएर गणतन्त्र विरोधी कार्य गरेको भन्दै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । त्यस्तै, मन्त्रालयहरूमा कमिसन लिएर पालिकालाई सशर्त बजेट वितरण हुने गरेको पनि उनले आरोप लगाए । 

संघका कर्मचारीसँग मोटो रकम लिएर कर्मचारीहरूलाई जिम्मेवारी दिने गरेको र महोत्तरीको टिकुलीया बजारमा केही दिन अघि भएको घटना लगायतका विषयहरूमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी नेता साहले दिए ।

नेता साहपछि जसपा नेपालका संसदीय दलका नेता एवम पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले बजेट निर्माण गर्ने समयमा मुख्यमन्त्री सतिश कुमार सिंहले घोषणा गरेको प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ कहाँ पुग्यो ? कसले पायो र कसले पाएन ? पायो भने त्यसले के के काम भए लगायतका प्रश्न गरेका थिए । 

त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।


 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update