Harsamaya
समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
फाइल फोटो
काठमाडौं - बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो । चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे । समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन । हाल यी बच्चा तीन वर्षका भइसकेका छन् । यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन् । 
 
त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको पनि आँखामा समस्या देखियो । बच्चा उमेर छ महिना पुग्दै गर्दा आँखामा सेतो चिह्न देखिन थाल्यो । आँखामा जटिल समस्या देखिएपछि उपचारका लागि केही समय अस्पतालको सघन उपचार कक्षमा राखियो । तर आँखाको पर्दा उप्किसकेकाले बच्चा अन्धोपनको शिकार हुनुपर्यो । 
 
यी त प्रतिनिधि घटना हुन् । दस महिना नपुगी जन्मने बच्चामा आँखासम्बन्धी समस्या देखिने सम्भावना बढी भएको चिकित्सक बताउँछन् । बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो । यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ । समयमै उपचार नगरिए अन्धोपनको सम्भावना भए पनि समयमै उपचार भयो भने निको पनि हुनसक्छ ।
 
डा अधिकारी भन्छिन्, “९९ प्रतिशत आरओपीमा दुई वटै आँखामा समस्या गराउँछ । समयमा उपचार पाएन भने बच्चा दृष्टिविहीन हुनसक्छन् ।” यसको समस्या बढ्दै गएमा बच्चाको दृष्टि कमजोर हुने, आँखा घुम्ने, सेतो देखिनेलगायतका लक्षण देखिन सक्दछन् । “अभिभावकले बच्चाले अनुहारमा हेरेको जस्तो लाग्दैन भनेर लिएर आउनुहुन्छ । तीन महिना भइसक्दा बच्चामा केही चिजहरु हेर्ने, पछ्याउने गर्छन् । तर आरओपीको समस्या भएका बच्चामा दृष्टि आउँदैन । पर्दा उप्किएर अगाडि आइसकेपछि सेतो देखिन्छ । अनुहार हेरेर नहाँस्ने, कुनै चिज दिँदा नहेर्ने, बत्तीतिर मात्र हेरेर टोलाउनेजस्ता लक्षण देखिन सक्छन् ।”
 
सामान्यतया बच्चा पेटमा ४० हप्तासम्म बस्छन् । ‘आरओपी’ को जोखिम भने समय अगावै जन्मिएका बच्चामा देखिन्छ । समय अगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेशलिष्ट डा इली प्रधान बताउँछिन् ।
 
डा प्रधानले एकमहिनाभित्रै पहिचान गरी उपचार गर्न सकिएमा बच्चाको आँखा जोगिन सक्ने बताउँछिन् । “छिट्टै पहिचान भयो भने यसको उपचार सम्भव छ । समय अगावै जन्मिने २० देखि २८ प्रतिशत बच्चामा आरओपीको प्रकोप देखिन्छ”, उनले भनिन् । 
 
बाल नेत्र रोग विशेषज्ञ डा अधिकारीले सबैभन्दा महत्वपूर्ण विषय स्क्रिनिङ (पहिचान) भएको उल्लेख गर्दै समय अगावै जन्मिने बच्चाको एक महिनाभित्र अनिवार्य स्क्रिनिङ गर्नुपर्ने सुझाव दिन्छिन् । उनले भनिन्, “समय नपुगी जन्मिएका सबै बच्चाहरू यसको जोखिममा हुँदैनन् । सबैमा जटिल समस्या देखिन्छ भन्ने पनि हुँदैन । करिब सात/आठ प्रतिशतलाई भने उपचार चाहिन्छ । यसको उपचार सम्भव छ तर जतिबेला गरेर हुँदैन । चाहिने समयमा गर्नुपर्छ ।”
 
उक्त समस्याको उपचार सुई, लेजर प्रविधिद्वारा गरिन्छ । तिलगङ्गा आँखा प्रतिष्ठानमा महिनामा २० देखि २५ जनासम्म यसप्रकारको समस्या लिएर आउने गरेको अस्पतालको भनाइ छ । 
 
रेटिना स्पेशलिष्ट डा प्रधान भन्छिन्, “कतिपय बच्चा घरमै पनि जन्मिएका छन् भने पनि स्वास्थ्यकर्मीले एक महिनाभित्र आँखा जाँचका लागि सुझाव दिनुपर्छ । आँखाको जाँच भनेको चश्मा जाँच मात्र होइन नानी फुलाएर हेर्नुपर्छ । समयमा हेरेर उपचार गर्न सकियो भने आँखा बचाउन सकिन्छ ।”
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक तथ्यांकअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन् ।  जसमध्ये चार हजार तीन सय शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ ।
 
मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ । तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ । यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आएका छन् ।
 
नवजात शिशुरोग विशेषज्ञ डा सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावकहरु ढिलो अस्पताल आइपुग्छन् । उनी भन्छन्, “सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चाहरूमा विभिन्न खालका सङ्क्रमण र जोखिम हुन्छ । आँखाको जाँच अनिवार्य हो । हामी कहाँ अस्पताल ढिलो आइपुग्नुहुन्छ । एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ ।” 
 
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update