
नुवाकोट - अवैध रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस प्रकृतिको अवैध क्रियाकलाप गरे कारबाही समेत हुने जनाएको छ ।
पछिल्लो समय नुवाकोटका सहरी तथा ग्रामीण भेगहरूमा रहेका कतिपय व्यावसायिक फर्महरू किराना, खाद्य, लत्ताकपडा, फलफूल तथा तरकारी, फार्मेसी, चमेना गृह, खुद्रा पसल र केही होटल, रेष्टुरेन्ट, वर्कशप, घुम्ती पसलहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण गरेको पाइएकाले त्यसो नगर्न प्रशासनले सूचित गरेको हो ।
अति प्रज्वलनशील पेट्रोलियम पदार्थको अवैध बिक्री वितरण गरेको जानकारी प्राप्त भइरहेको कारण तत्काल नियन्त्रण गरी प्रचलित कानुन बमोजिम तोकिएको निकायबाट अनुमति नलिई भएका त्यस्ता अवैध क्रियाकलापप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद होमागाईंले बताए ।
अति प्रज्वलनशील पेट्रोलियम पदार्थको अवैध खरिद, अवैध भण्डारण तथा अवैध बिक्रीवितरण गर्ने कार्य आगलागिजन्य विपद्का दृष्टिले अत्यन्त जोखिमयुक्त, सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशिल, कानुनतः अवैध र दण्डनीय कार्य भएका कारण त्यस्तो कार्य नगर्न सूचित गरिएको होमागाईंको भनाइ छ।