Harsamaya
एमसीसीले निरन्तरता पाउने, युएसएआइडी अनुदान भने अनिश्चित
अमेरिकीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ।

काठमाडौं - अमेरिकीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनालाई निरन्तरता दिने भएको छ । 

राष्ट्रपतिमा डोनाल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) को एमसिसी कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको हो।

अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसिए नेपालले जनाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले गत जनवरी २० (पुस ७) मा ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार एमसिसी रोकेको थियो। 

एमसिसीमा अमेरिकाको ५० करोड डलर अनुदान दिने सम्झौता भएकोमा पछि पाँच करोड डलर थपेर कुल ५५ करोड डलर अनुदान दिने निर्णय गरिएको थियो। नेपालले गर्ने लगानीसहित एमसिसीमा कुल लगानी ७४.६७ करोड डलर रहेको छ।

यसमा नेपाल सरकारको १९ करोड ६७ लाख डलर लगानी हुनेछ। अमेरिकी सरकारको अनुमतिपछि धानखोला–लमही सडकको सुपरिवेक्षण परामर्शदाता नियुक्त गर्न यसै साता सूचना प्रकाशित भएको छ।

एमसिसी र नेपाल सरकारको संयुक्त लगानीमा तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन, चार सय केभीकै तीन वटा सबस्टेसन तथा दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने परियोजना निर्माण हुनेछन्।

नेपालमा एमसिसी परियोजना सुरु गर्ने बेलामा निकै ठुलो विवाद भएको थियो। १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी नेपाल कम्प्याक्ट अनुमोदन भएको थियो।

एमसिसीले निरन्तरता पाए पनि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत दिँदै आएको अनुदान भने रोकिएको छ।

सन् २०२२ मा युएसएआइडी र नेपालबिच ६५९ मिलियन डलरबराबरको पाँच वर्षे विकास उद्देश्य सम्झौतामा हस्ताक्षर भएको थियो। यीमध्ये २०२२ देखि अहिलेसम्म दुई वर्षको अवधिमा केही रकम भने खर्च भइसके पनि अरू रकम रोकिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update