Harsamaya
जातीय विभेद गर्ने गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाविरुद्ध प्रहरीमा उजुरी 
सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा जातीय विभेदमा परेका परिवार ।

सिरहा - सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् । 

पीडित परिवारका दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबाविरुद्ध जाहेरी दिएका हुन् 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए ।

घटनामा संलग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई शुक्रवार नै प्रहरीले पक्राउ गरिसकेको छ । बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले बताए ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञ स्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रवार मन्त्रालय तानिसकेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update