Harsamaya
सिन्धुस्पाइडर युवा क्लबको पहलमा ब्लड क्यान्सर पीडित तामाङलाई पाँच लाख बढी सहयोग 
ब्लड क्यान्सर पीडित अमिर तामाङलाई सहयोग रकम हस्तान्तरण कार्यक्रम ।

काठमाडौं - ब्लड क्यान्सर पीडित अमिर तामाङलाई सिन्धुस्पाइडर युवा क्लबको पहलमा साँढे पाँच लाख भन्दा बढी सहयोग जुटाएर वितरण गरिएको छ। 

मेलम्ची नगरपालिका-८ लाभगाउँ क्यान्सर पीडित सात वर्षका अमिरलाई सिन्धु स्पाइडर युवा क्लबले पाँच लाख ६१ हजार ५ रुपैयाँ रकम संकलन गरी  शनिबार हस्तान्तरण गरेको  हो।

बागमती प्रदेशका सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्णकुमार तामाङ र वडा अध्यक्ष जितबहादुर तामाङले काठमाडौँको डाँछीस्थित पीडित बालक बस्दै आएको स्थानमै पुगेर उक्त रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष अरुण तामाङले जानकारी दिए ।

देश तथा विदेशमा रहेका सहयोगी भावना भएका व्यक्तिहरू तथा स्थानीय युवाहरूबाट प्राप्त भएको उक्त रकम ७० हजार पाँच रूपैयाँ नगदै र ४ लाख ९१ हजारको चेक मार्फत पीडित अमीरका हजुरबुवा सुर्जमान तामाङ, बुवा सुन्दर तामाङ लगायत परिवारका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो । 

सहयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा सांसद तामाङले पीडित बालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै वडा अध्यक्ष तामाङले पनि वडाबाट र व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने र विभिन्न निकायमा समेत पहल गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए।

सहयोग रकम हस्तान्तरणपछि क्लबका अध्यक्ष अरुण तामाङले स्थानीय नागरिकहरूको पीडामा क्लबले विगतदेखि नै काम गर्दै आएको र भविष्यमा पनि यस्ता सामाजिक कार्यमा अघि बढ्ने बताए।

क्लबले विगतमा कोरोनाको समयमा, गाउँमा भएका विभिन्न विपदका घटनाहरूमा र मेलम्ची बाढी पीडित लाई समेत राहत वितरण गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update