
काठमाडौं - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलि पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी पस्दैनन् भन्ने कुनै ग्यारेन्टी नरहेको टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अकर्मण्यता, नीतिहीनता र निष्कृयताकै कारण अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताएका हुन् । शासकहरु निष्कृय भएर आफ्नो नीति, मूल्य र मान्यता भुलेको खण्डमा राजनीतिमा असम्भव भनिएका कुराहरू नै सम्भव हुने उनको भनाइ छ ।
प्रतिगमनकारीहरुको अहिलेको सल्बलाहटलाई रोक्न र देशलाई आमूल परिवर्तनको दिशातर्फ लान नीतिको आवश्यक पर्ने उनले बताए । नत्र भने कहिलेकाहीँ गंगा नदी उल्टो पनि बग्न सक्ने उनको चेतावनी छ ।
साथै, एकीकृत समाजवादीको महाधिवेशन सकिएको १० महिनासम्म पनि दस्तावेजहरू प्रकाशित हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।