
सिरहा - सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन्।
घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिककोमा गएपछि त्रासले परिवारै नै विस्थापित भएका हुन् ।
रुपेशले पीडित परिवारलाई आफूहरूसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।
असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएकी छिन्। दिपक आफै भने गाउँकै एक जनाको घरमा बसोबास गररिरहेको स्थानीयले बताएका छन्।
उनका छोराछोरीहरु भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए। प्रहरीले सुरक्षाका कारण दिपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।
घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलिप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको जनाइएको छ।
औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो।