
काठमाडौं - श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आगामी साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन गृहकार्य सुरु गरेको छ ।
विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत न्यूनतम पारिश्रमिक निर्धारण समितिले आगामी २०८२ साउन १ गतेदेखि लागु गर्ने श्रमिकको पारिश्रमिक वृद्धिको काम सुरु गरेको जानकारी दिएको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अघिल्लो पटक वृद्धि गरिएको पारिश्रमिक अझै कतिपय प्रतिष्ठानमा कार्यान्वयन नभएको पाइएकाले त्यसको कार्यान्वयनका लागि सबै रोजगारदाता प्रतिष्ठानलाई जिम्मेवार बन्न आग्रह गरे ।
हाल श्रमिकको मासिक पारिश्रमिक १७ हजार तीन सय रुपियाँ तोकिएको छ । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपियाँ तोकिएको छ भने महँगी भत्ता ६ हजार ४८० रुपियाँ छ । २०८० साउन १ गतेदेखि लागु भएको श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ कार्यान्वयन गरेको हो ।
आगामी वर्षदेखि लागु हुने नयाँ पारिश्रमिक अहिलेको महँगीलगायत सबै कुरालाई ध्यानमा राखेर न्यूनतम पारिश्रमिक निर्धारण गरिने महानिर्देशक भट्टराईले जानकारी दिए ।