
काठमाडौं - आगलागीका घटनाहरू दिनानुदिन बढिरहेका छन्। विभिन्न कारणले आगलागीका घटना हुने गर्दछन्। आगलागी किन हुन्छ ? यसका कारणहरू के के हुन र आगलागीका घटना भइहालेमा कसरी क्षति कम गर्न सकिन्छ जान्न जरुरी छ ।
आगलागीमा परेकाको उपचार पद्धति लामो छ । उपचारबाट पनि आगलागीमा परेका शरीरका अंगहरू पहिला जस्तै हुँदैनन् । दागहरू बस्ने गर्दछ । साथै उपचार पनि खर्चिलो छ । तर ८० प्रतिशत जलनका घटनाहरू रोकथाम गर्न भने सकिन्छ । त्यसका लागि सामान्य कुराहरूमा ध्यान दिन आवश्यक रहेको कीर्तिपुर अस्पतालका निर्देशक डा.किरण किशोर नकर्मी सुझाव दिन्छन् । त्यसका लागि जलन कसरी हुन्छ ? के के कारणबाट हुन्छ ? जान्न आवश्यक छ ।
कसरी जलन हुन्छ ?
नेपालको अहिलेको तथ्यांक हेर्ने हो भने ७० प्रतिशत जलनका घटनाहरू भान्साघरमा हुने गर्दछन् । मुख्यतः खाना पकाउँदा र आगो ताप्दा बढी यस्ता घटना हुने तथ्यांकले देखाउँछ । त्यसैले पकाउने ठाउँहरू भुइँमा नराख्ने । भुइमा राख्दा बच्चाहरूले चलाउन सक्छन् । ठूला मान्छेको पनि कपडा अल्झन सक्छ । त्यसैले पकाउने ठाउँलाई कम्तीमा साढे तीन फिट अग्लो स्थानमा राख्नुपर्छ । जसले गर्दा बच्चाहरू पर्ने आगोले कपडा समाउने समस्या कम हुन्छ ।
आगोको काम सकिएपपछि निभाइहाल्ने
हाम्रो गाउँघर तिर आगो निभाउनु हुन्न भन्ने जनविश्वास छ । आगोलाई खुल्लै राख्दा कुनैबेला आगो सल्किन सक्ने सम्भावना धेरै हुन्छ । त्यसैले काम सकिनासाथ आगो निभाइहाल्नु पर्दछ ।
अर्को आगोमा बस्दा खुकुलो कपडाहरू नलगाउने
आगोको छेउमा बस्दा प्रज्वलनशील कपडाहरू नाइलन पोलिष्टरका कपडाहरू प्रयोग गर्नुहुँदैन । प्राय सुतीको कपडा राम्रो हुन्छ । कपाल खुल्लै राखेर भान्सामा काम गर्दा कहिलेकाहीँ कपाल पनि आगोले समाउन सक्छ । त्यसैले कपाल सपक्क बाँध्नुपर्छ ।
बच्चाहरू साथमा लिएर कहिले पनि नपकाउने
बच्चाहरू बोकेर खाना पकाउँदा बच्चा चलेर आगोमा परेका घटनाहरू भेटिएका छन् ।
अर्को अहिले ग्यासको प्रचलन पनि बढी छ । त्यसमा पनि हामीले सावधानी अपनाउन सक्छौं । ग्यासको सिलिण्डरलाई भान्सा कोठा भित्र नराखेर बाहिर राख्ने । गुणस्तरीय रेगुलेटर प्रयोग गर्ने । सस्तो खालको रेगुलेटर किन्दा खेरि दुई चार पैसा त बचाइएला तर त्यसले दुर्घटना हुँदा लाखौं क्षति मात्रै होइन कहिलेकाही ज्यान पनि जान सक्छ । रेगुलेटर देखि ग्याससम्म जाने पाइपको पनि निगरानी गर्नु पर्दछ । कतै काटिएको छ कि, कतै आगोले पोलेर प्वाल परेको छ कि हेर्नु पर्छ ।
हिटरको प्रयोग गर्दा ध्यान दिने
बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन । बन्द कोठामा हिटर बाल्दा त्यसबाट निस्कने कार्बनमोनोअक्साइडले हाम्रो श्वासनली र फोक्सोमा असर गर्छ । जसका कारण निस्सासिएर मानिसको मृत्यु समेत हुन सक्छ । त्यसैले हिटर बाल्दा झ्यालहरू खुला राख्नुपर्दछ ।
तातो झोलले पोल्ने
गाउँघरमा चाहिँ खोलेहरू पकाएर राखिरहेको हुन्छ । त्यसमा बच्चाहरू परेको पाइन्छ । त्यस्तै बच्चालाई नुहाउन पानी तताएर भुइमै राख्दा बच्चाहरू परेको, पानी तताएर टेबलमा राखिएको हुन्छ बच्चाले टेबलपोस अथवा भाँडो तान्दा पोल्ने हुन्छ । जहाँ बच्चाहरू बढी हुन्छन् त्यस्तो ठाउँमा निगरानी राख्नु नै पर्ने हुन्छ । एक्लै बच्चाहरूलाई छाड्ने गर्नुहुँदैन ।
पोलेपछि के गर्ने ?
आगोले पोलेपछि तत्कालका लागि प्राथमिक उपचार गर्ने हाम्रा आफ्नै चलनचल्ती छन् । आगोले पोल्नासाथ हामी नुन दल्छौं, गोलभेडा दल्छौं, घिउकुमारीहरू लगाउँछौं । हामीले अपनाउने उपायहरू कति सुरक्षित छन् त ? कीर्तिपुर अस्पतालका निर्देशक डा.किरण किशोर नकर्मी यस्तो सुझाव दिन्छन् ।
आगलागीका घटना हुँदा बिरामीलाई समयमा अस्पताल लाने भन्दा पनि फोटो भिडियो खिच्ने धेरै हुन्छन् । तर हामीले विशेष बिरामीको ख्याल गर्नुपर्दछ । बिरामीलाई तुरुन्तै अस्पताल लान सकिन्छ भने लाने यदि लान सकिन्न भने आधा घण्टा पानीले भिजाउनु राम्रो हुन्छ । जसले गर्दा घाउहरू गहिरो हुन पाउँदैन । समयमै अस्पताल लाँदा इमर्जेन्सीमा पोलेको ठाउँमा चिस्याइन्छ । त्यो गर्दा धेरै बिरामीको छाला प्रत्यारोप गर्नुपर्दैन ।
पोलेको घाउमा बगिरहेको पानी खन्याउन सके घाउ गहिरो हुन पाउँदैन । गहिरो नभएपछि छाला प्रत्यारोपण नगरेपनि हुन्छ । घाउमा विभिन्न घरेलु उपचार पद्धति अपनाउने चलन पनि छ । जस्तै गोलभेडा, घिउकुमारी,नौनी, टुथपेष्ट लगाउने चलन छ । आधा घण्टा बगेको पानीले पोलेको ठाउँमा नहालुन्जेल कुनै कुरा प्रयोग गर्नुहुँदैन। पोल्नासाथ लगाउँदा घाउको माथि ती कुराहरूले पत्र बनाउँछ र तातो बाहिर आउन दिँदैन । बाहिर जान नपाएपछि त्यो तातो भित्रभित्रै गलेर भित्र घाउ गहिरो बनाउन सक्छ ।
आगो लाग्नासाथ पहिला आगो निभाउन पर्यो र दोस्रो जिउँमा भएको कपडा निकाल्नुपर्यो । त्यसपछि चाहि पानीले सेलाउनुपर्यो । आधा घण्टा पानीले सेलाइसकेपछि सेतो कपडा, कम्बल तथा सफा कपडाले छोपेर नजिकको स्वास्थ्यचौकी लानु पर्दछ ।
आगलागी भएपछि फोक्सो र श्वासनलीमा असर गर्छ । त्यसका लागि हामीले सामान्य कुराहरू याद गर्यौं भने क्षति कम गर्न सकिन्छ । तातो धुवा निल्दा श्वासनली सुन्निने, फोक्सोमा असर गर्ने र रगतमा पनि विषालु ग्यासहरू गएर असर गर्न सक्छ । त्यो नहुनका लागि त्यस्तो बन्द कोठामा आगलागी भइहालेको खण्डमा भुइमा बसेर ढोकाबाट बाहिर निस्कने कोसिस गर्नुपर्छ । उभिएर दौडिँदा धुवाहरू माथि माथि हुन्छ र निलिन्छ । टुक्रुक्क बसेर छिटो छिटो हिँडेर बाहिर गयो भने धुवा श्वासनलीमा जने सम्भावना कम हुन्छ ।