Harsamaya
काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउने
काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।

काठमाडौं - काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।

स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरू कार्यक्रमको लक्षित वर्गमा राखिएको छ । 

कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनु पर्छ । यसरी विवरण टिपाए पछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिनेछ ।

स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे भट्टले भनिन, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिनेछ ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update