Harsamaya
संघर्षबाट स्थापित नेतृत्व: अपांगता भएका व्यक्तिका आवाज बनेका विकास थापा
राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षका उम्मेदवार विकास थापा। ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - सिन्धुपाल्चोक एउटा सानो गाउँबाट आएका विकास थापा अहिले काँग्रेसको राष्ट्रिय राजनीतिमा चर्चाका पात्र भएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको महाधिवेशन लागेसँगै उनको नाम चर्चाको शिखरमा पुगेको हो । 

उनले देशभर प्रजातान्त्रिक विचारमा आस्था राख्ने अपांगता भएका व्यक्तिहरूको नेतृत्व गर्न अध्यक्ष पदमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् । संघको महाधिवेशन आज र भोलि हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयमा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि थापाले बिहीबार नै उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले अपाङ्गता भएका नागरिकहरूको समान हक, अधिकार, सम्मानित जीवन र समावेशी लोकतन्त्रको सशक्त आधार तयार पार्ने संकल्पको साथ महाधिवेशनमा होमिएको बताए ।

विकास जन्मजात नै अपांग थिए । सुरुमा उनलाई आफ्नै जीवन बोझ झैँ लाग्थ्यो। तर उनले जीवनमा कहिल्यै हरेश खाएनन् । आफ्नो शैक्षिक, राजनीतिक र सामाजिक कार्यमा सधैं लागिरहे। उनी अहिले अपांग संघको अध्यक्षका लागि मैदानमा छन् । 

थापा सानैदेखि काँग्रेसको विचारधाराबाट प्रभावित थिए। उनले २०५९ मा नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाई समिति सहसचिव भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । 

उनले २०६० मा सानोठिमी क्याम्पस इकाईको अध्यक्ष भएर विद्यार्थी राजनीतिलाई अगाडि बढाए । उनले विद्यार्थी हकहितका लागि क्याम्पसमा सधैँ आफूलाई अग्र स्थानमा राखे। अखिल र अनेरास्ववियुको दबदबा रहेको क्याम्पसमा बसेर नेविसंघको राजनीति गर्न सजिलो थिएन । तर उनले आफूलाई सधै अब्बल सावित गरे । 

उनले नेविसंघमा आस्था राख्ने विद्यार्थीको मात्रै होइन क्याम्पसमा पढ्न आउने सबै विद्यार्थीको साझा विद्यार्थी नेताका रूपमा आफूलाई प्रस्तुत गरे । फलस्वरुप उनी २०६२मा स्ववियु सभापतिको उम्मेदवार भए । उनले सभापतिमा जित्न सकेनन् तर हर विद्यार्थीको मनमुटुमा आफ्नो बलियो छाप कोर्न सफल भए । 

सरल, मृदुभाषी  र अनुशासित थापा २०६२/०६३को आन्दोलनमा क्याम्पस परिचालन समितिको संयोजक बने । उनले दोस्रो जनआन्दोलनमा सशक्त भूमिका निभाए । अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि आन्दोलनमा होमिदा पटक पटक पक्राउ परे । 

उनले भक्तपुर र सिन्धुपाल्चोकको नेविसंघ जिल्ला कार्यसमिति सदस्य भएर काम गरे । नेपाली काँग्रेसको १२औं महाधिवेशनमा  उनी महासमिति सदस्यमा निर्वाचित भए । उनले २०६८ देखि २०७३ सम्म नेविसंघको केन्द्रीय सदस्य भएर देशभरका विद्यार्थीका हकहितका लागि लडे । १३औं महाधिवेशनमा उनी पुन: महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

उनले नेपाली काँग्रेस सिन्धुपाल्चोकको  जिल्ला सदस्य भएर काम गरे । उनी २०६६मा राष्ट्रिय लोकतान्त्रिक अपागं संघको संस्थापक  सदस्य बने ।  उनले नेपाली काँग्रेसको समावेशी पुर्नसंरचना र विधानमा सुझाव संविधान संशोधन मार्फत अपांगता भएका नागरिकहरूको राजनीतिक अधिकार सुनिश्चितताका लागि काम गरे । उनी अहिले राष्ट्रिय पारालम्पिक कमिटि नेपाल र नेपाल ह्विलचेयर टेनिस संघको अध्यक्ष रहेका छन् । 

राजनीतिमा आफ्नो संघर्षबाट स्थापित थापा अहिले संघको अध्यक्षका लागि मैदानमा छन् । उनले आफू अध्यक्षमा निर्वाचित भए  गर्ने काहरूको प्रतिबद्धता पत्रपनि प्रस्तुत गरिसकेका छन् । 

उनका प्रतिबद्धता यस्ता छन् । 
- नेपाली कांग्रेसको समावेशी पुनसंरचना र विधान सुधार।
- पार्टी विधानलाई संशोधन गरी अपाङ्गता भएका व्यक्तिहरूको समान प्रतिनिधित्व अनिवार्य गर्ने।
- पार्टीका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिहरूको निर्णायक सहभागिता सुनिश्चित गर्ने
- समावेशी लोकतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसभित्र नीति निर्माण तहदेखि स्थानीय तहसम्म समावेशी मापदण्ड लागू गराउने
- संविधान संशोधन गरी अपाडता भएका व्याक्तिहरूको राजनीतिक अधिकारको सुनिश्चितता गरी समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्ने ।
- संगठन सुदृढीकरण र पार्टी सशक्तीकरण अभियान संचालन गर्ने ।
- राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई नेपाली कांग्रेसको प्रभावशाली भातृ संगठनको रूपमा स्थापित गर्ने।
- राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संगठन देशव्यापी रूपमा विस्तार गर्दै अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सशक्तीकरण गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरूलाई नेतृत्वमा अघि बढाउने तालिम, क्षमता विकास र सचेतना कार्यक्रम सञ्चालन गर्ने
- अपाङ्गता भएका नागरिकहरूको आर्थिक, सामाजिक र रोजगारी सुनिश्चितता गर्ने ।
- अपाङ्गता उद्यमशीलता कोष स्थापना गरी बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गराउन पहल गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी विशेष रोजगारी, व्यवसायिक तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गराउन पहल गर्ने।
- शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, आवासलगायत क्षेत्रमा अपाङ्ता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न कानुनी सुधार गराउन पहल गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरूको लागि समान अवसर सुनिश्चित गर्ने कानुनी सुधार गराउन पहल गर्ने ।
- सरकारी, गैरसरकारी, निजी तथा सार्वजनिक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अनिवार्य प्रतिनिधित्वको कानुनी ग्यारेन्टी गर्ने।
- सार्वजनिक यातायात, भौतिक पूर्वाधार र सरकारी सेवाहरू अपाङ्गता मैत्री बनाउने कानुनी व्यवस्था लागू गराउने।
- अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने हिंसा, विभेद र अन्याय विरुद्ध कड़ा कानुनी व्यवस्था गराउने।
- अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने ।
- अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्तालाई जीवनयापन योग्य बनाउँदै कानुनी रूपमा ग्यारेन्टी गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्योपचार सुनिश्चित गर्दै हरेक प्रदेशमा अपार्टता विशेषज्ञ अस्पताल स्थापना गराउन पहल गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने थप कार्यक्रमहरू लागू गराउने।
- सामाजिक न्याय र समावेशी लोकतन्त्रका लागि निर्णायक आन्दोलन गर्ने ।
- लोकतन्त्रको मूल आधार समावेशीता हो, त्यसैले नेपाली कांग्रेसलाई पूर्ण रूपमा समावेशी बनाउन निर्णायक भूमिका निर्वाह गर्ने।
- अपाङ्गता भएका व्यक्तिहरुको मुद्दालाई नेपाली कांग्रेसभित्र नीति निर्माण तहसम्म पुर्याउने ।
- नेपाली कांग्रेसलाई सशक्त, पारदर्शी, उत्तरदायी र सामाजिक न्यायको पक्षधर बनाउन संघर्ष गर्ने।
- हाम्रो अपिल: समावेशी कांग्रेस समुद्र लोकतन्त्र

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update