
काठमाडौं - स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालित चन्द्रपुर नगरपालिकाभित्रका निजी तथा सामुदायिक स्वास्थ्य संस्था बन्द गरिएको छ।
स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालनमा आएका ६ वटा अस्पताललाई पालिकाले स्थायी अनुमति नलिएसम्म बन्द गर्न भनी पत्राचार गरेपछि बन्द भएका हुन्।
चन्द्रपुर सामुदायिक अस्पताल, चन्द्रपुर अर्थोपेडिक अस्पताल, सिम्स अस्पताल, हाइवे अस्पताल प्रालि र हिमालय पोलिक्लिनिकले मापदण्ड पूरा गर्न अस्पताल बन्द गरी पक्रिया अगाडि बढाएको पालिकाका स्वास्थ्य प्रमुख राजश ठाकुरले जानकारी दिए।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशभित्र सञ्चालित निजी स्वास्थ्य संस्थाको निरीक्षण गर्ने क्रममा स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालनमा आएका चन्द्रपुर नगरपालिकाभित्र सञ्चालित ६ वटा अस्पताललाई प्रक्रिया पूरा गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएका थिए।
पालिका प्रमुख सञ्जयकुमार काफ्लेले ती अस्पतालका सञ्चालकलाई तोकिएको मापदण्ड पूरा गरी नगरपालिकामा दर्ता गराएर मात्रै अस्पताल सञ्चालन गर्न सुझाव दिएको बताए।