
काठमाडौं - नेपाल उद्योग परिसंघले उद्योगहरूमा अहिले दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने गरेको बताएको छ। परिसंघले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाल विद्यूत प्राधिकरणले हाल दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरूलाई प्रताडित पार्ने काम गरेको आरोप लगाएको छ।
अर्थतन्त्रको मेरूदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गर्ने कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पारेको परिसंघले जनाएको छ। साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघले उल्लेख गरेको छ।
‘सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको छ', परिसंघले भनेको छ।
यस्तै परिसंघले मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरूमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ? भन्दै प्रश्न गरेको छ।
केही समयअगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ गर्दै प्राधिकरणले भारतमा विद्युत् निर्यात गरेको परिसंघको आरोप छ। परिसंघका अनुसार प्राधिकरणले उद्योगहरुमा विद्युत् उपलब्ध नगरा भारतलाई बिक्री गर्दा उद्योगको उत्पादनमा गम्भीर असर परेको थियो।
‘विद्युत् कुनै पनि उद्योगहरूका लागि कच्चापदार्थ हो । कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव हुँदैन। त्यसैले उद्योगलाई नियमित विद्युत् आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघ सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ', परिसंघले भनेको छ।