काठमाडौं – तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ। अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जनाएको छ।
औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मष्तिष्क पक्षघातमा आवश्यकपर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थाप्रति आभार व्यक्त गरे।
उनले भने, ‘यो औषधि राज्य कोषबाट किनेर आवश्यक पर्नेलाई उपलब्ध गराउन गाह्रो थियो। आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ। दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौँ।’
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा पवनजङ्ग रायमाझीले मस्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए। उनका अनुसार ८०० भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको छ।
डा रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको रु ७० हजार पर्दछ। उनले यो औषधिलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको ‘कोल्ड चेन’मा २ देखि ८ ‘सेन्टिग्रेड’मा भण्डारण गरिएको र आवश्यकताअनुसार उपलब्ध गराइने जनाए।
नेपालमा एक वर्षमा ३०० देखि ४०० को सङ्ख्यामा पक्षघातका बिरामी उपचारका लागि स्वास्थ्य संस्था आउने गरेका छन्।