Harsamaya
बुल्दी खोलामा पुल निर्माणः नौ महिनामा ७५ प्रतिशत प्रगति
तनहुँ - जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ ।
 
निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो । आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ । सम्झौता मितिभन्दा छ महिना अगावै फागुनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यास नगरपालिका योजना शाखा अधिकृत तिवारीले बताए । 
 
पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु  छ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो । कम्पनीले निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । उनका अनुसार यस पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । 
 
हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदै आएको थियो ।  पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए । 
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update