
नुवाकोट- नुवाकोटमा बसको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ । तारकेश्वर गाउँपालिका-१, छापडाँडाकी ३७ वर्षीय मञ्जु तामाङलाई बुधबार ४ बजेर ४५ मिनेटमा बसले ठक्कर दिएको थियो ।
काठमाडौंबाट नुवाकोटको दानसिंह तर्फ आउँदै गरेको बा२ख ६८०४ नम्बरको पासाङल्हामु यातायातको बसबाट ओर्लिएर बाटो क्रस गर्ने क्रममा बस अगाडि बढ्दा उनलाई आफू चढेर आएको बसले नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी आफ्नो घर जान बाटो क्रस गर्दै गर्दा बसले ठक्कर दिएर घाइते भएकी थिइन् । घाइते तामाङलाई त्रिशुली अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
बसका चालक नेत्र तामाङलाई प्रहरीले हिरासतमा लिएको छ । चालक तामाङ र मञ्जु एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम हुँदै गरेको प्रहरीको भनाइ छ । मञ्जु श्रीमानसँगै काठमाडौंबाट नुवाकोट आएकी थिइन् । श्रीमान् र श्रीमतीसँगै आउँदा श्रीमतीको दुखद घटना भएको प्रहरीले बताएको छ ।