
सिरहा - सिरहामा करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एक जना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीबास गराएका छन्। पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापित गरेका हुन्।
विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन्। तर, उनको आस्थाका भगवानले उनलाई कहिल्यै रक्षा गर्न सकेनन् ।
उनका परिवारले पनि आस्थाका साथ मानिरहेका भगवानहरूको नाममा यही चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। दिपक त्यहि महायज्ञस्थल नजिकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए। महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते घर भत्काए ।
आयोजकले मलिकको घर मात्र भत्काएनन् अछुतले छोएको माटो भनेर घर रहेको स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।
थातथलो भत्काएर मलिक परिवारलाई विस्थापित गराइएपछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिब २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परिवार बस्दै आएका थिए ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे।
स्थलगत निरीक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएका छन्। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’