Harsamaya
मालपोत कार्यालय भरतपुरमा ‘रातो स्टिकर’
मालपोत कार्यालय भरतपुर

चितवन - विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक रु एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् ।

बाइपास सडकसँगै छ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन् । कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ ।

विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ ।

सोही जग्गामा नयाँ भवन बनाएर पार्किङसहितको कार्यालय बनाउन पटक-पटक भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइएको प्रमुख गौतमले बताए । उनले भने, ‘हामीले विभागमा लेखेर पठाएका छौँ । तर हालसम्म नयाँ भवन बन्न सकेको छैन।’

कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update