
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेबाट सुरू हुने जनाएको छ । यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदैछन्। गत वर्षको तुलनामा ४९ हजार २८६ जनाले वृद्धि भएको छ।
देशभरका २,०७९ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन हुनेछ । परीक्षामा १५० विद्यार्थीसम्म भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० विद्यार्थी बराबर एक निरीक्षक खटाइएको छ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी,संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुँदैछ ।
यस वर्षको एसइई परीक्षा चैत १९ गतेसम्म चल्नेछ। परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
विद्यार्थीहरूलाई परीक्षा अवधिमा अनुशासन, समय व्यवस्थापन र मानसिक सन्तुलन कायम राख्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ। सफा र निष्पक्ष परीक्षा गराउन परीक्षा नियन्त्रण कार्यालयले कडाइ गर्ने बताएको छ।