
सिन्धुपाल्चोक - आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान वितरण गर्न सिफारिस गरेको हो।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना सर्त तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न सक्ने अनुदानका रूपमा पठाउने वित्तीय समानीकरण अनुदान पठाएको छ ।
१२ वटा स्थानीय तहहरू रहेको जिल्लामा तीन नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । यी मध्ये कुन पालिकाले कति अनुदान पाए त ?
सिन्धुपाल्चोकमा सबैभन्दा बढी अनुदान चौतारा नगरपालिकाले पाउने भएको छ । चौताराले १८ करोड २४ लाख पाउने भएको छ भने मेलम्ची नगरपालिकाले १७ करोड ८५ लाख पाउने भएको छ ।त्यस्तै बाह्रबिसे नगरपालिकाले १२ करोड ८९ लाख संघीय अनुदान पाउने भएको छ ।
जिल्लामा रहेका ९ वटा गाँउपालिका मध्ये ईन्द्रावती गाँउपालिकाले सबैभन्दा धेरै अनुदान पाउने भएको छ । ईन्द्रावतीले १३ करोड ७२ लाख पाउने भएको छ । पाँचपोखरी थाङ्पाल गाँउपालिकाले ११ करोड ४४ लाख पाउने भएको छ । बलेफी गाँउपालिकाले ११ करोड १८ लाख पाउने भएको छ । जुगल गाँउपालिकाले ११ करोड १३ लाख पाउने भएको छ ।
भोटेकोशी गाँउपालिकाले ११ करोड १२ लाख पाउने भएको छ । हेलम्बु गाँउपालिकाले ११ करोड १२ लाख पाउने भएको छ । हेलम्बु र भोटेकोशीले समान अनुदान पाएका छन् । सुनकोशी गाँउपालिकाले १० करोड ५० लाख पाउने भएको छ । लिसंखु पाखर गाँउपालिकाले ९ करोड ८६ लाख पाउने भएको छ भने त्रिपुरा सुन्दरी गाँउपालिकाले ८ करोड ९९ लाख पाउने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाले आगामि आर्थिक वर्ष संघीय अनुदान बापत कुल १ अर्ब ४८ करोड ४० लाख पाउने भएका छन् ।