Harsamaya
लोकतान्त्रिक अपांग संघको अध्यक्षमा तीन आकांक्षी, नेता र पत्रकारमध्ये कसले मार्ला बाजी ?
माधवप्रसाद चम्लागाई, प्रकाश पन्त र विकास थापा।

काठमाडौं - नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन शुक्रबार सुरु हुँदैछ। यही चैत्र ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि तीन जनाले आकांक्षा राखेका छन्।

७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष पदका लागि माधवप्रसाद चम्लागाई, प्रकाश पन्त र विकास थापा आकांक्षी देखिएका छन्। हाल अध्यक्ष रहेका पन्त आरक्षणतर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन्। उनले फेरिपनि संघको नेतृत्वमा आउने इच्छा गरेका छन्।

यस्तै चम्लागाई हाल संघको केन्द्रीय सदस्य छन्। अपाङ्गता भएका व्यक्तिका हक हितका पक्षमा लामो समयदेखि नीतिगत तहमा काम गर्दै आएका उनले देशको संविधान निर्माणका समयमा र नेपाली कांग्रेसको वर्तमान विधान संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषयलाई उठाएका थिए ।

अर्का अध्यक्षका बलियो दाबेदार ठानिएका थापा संघको पूर्व केन्द्रीय सदस्य हुन्। उनी पनि अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा काम गर्दै आइरहेका छन्। नेविसंघबाट राजनीति सुरु गरेका उनी अहिले राष्ट्रिय पाराओलम्पिक कमिटीका केन्द्रीय सदस्य र नेपाल ह्विलचेयर टेनिस संघका अध्यक्ष रहेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका उनी अपांगता भएका व्यक्तिको राजनीतिक अधिकार रक्षाका लागि सधैं लागिपरिरहन्छन् ।

उनी राजनीतिक र अपांगता अधिकार प्राप्तिका लागि भएका आन्दोलनमा पक्राउ परेका छन् । २०५९ सालबाट राजनीति सुरु गरेका उनी सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्य, नेविसंघ केन्द्रीय सदस्य, पार्टीको महाधिवेशन र महासमिति सदस्यसमेत भइसकेका छन् । 

संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिलारखुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने व्यवस्था छ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौं आउन थालेका छन्। पार्टी सभापति शेर बहादुर देउवाले महाधिवेशन उदघाटन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update