Harsamaya
बेलायती र सिङ्गापुरे सेना सपना अब घरबाटै पुरा हुन्छ 
बागलुङ नगरपालिका–४, डाँडाखेतमा पाँच करोड ५० लाखको लगानीमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र सञ्चालन।

बागलुङ - बेलायती र सिङ्गापुरे सेनामा भर्ती हुन चाहने युवाका लागि अब टाढासम्म जानुपर्ने बाध्यता हट्ने भएको छ। बागलुङ नगरपालिका–४, डाँडाखेतमा पाँच करोड ५० लाखको लगानीमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ।

चार जना भूतपूर्व बेलायती लाहुरे र दुई जना सिङ्गापुरे लाहुरे मिलेर खोलिएको यस तालिम केन्द्रले इच्छुक युवालाई व्यावसायिक र प्रभावकारी प्रशिक्षण दिनेछ।

बेलायती र सिङ्गापुरे सेनामा भर्ती हुन चाहने युवाहरू अहिलेसम्म पोखरा, बुटवल जस्ता स्थानमा तालिम लिन जान्थे। तर, अब बागलुङ, म्याग्दी, पर्वत लगायतका स्थानका युवाहरूले आफ्नै जिल्लामा उच्चस्तरीय प्रशिक्षण पाउनेछन्।

प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनका अनुसार सन् २०२६ को भर्तीका लागि युवाहरूको भर्ना प्रक्रिया सुरु भइसकेको छ। पुनकै नेतृत्वमा तीन वर्षअघि निर्माण सुरु गरिएको यो केन्द्र छ रोपनी जमिनमा फैलिएको छ र एक सय जना प्रशिक्षार्थीलाई एकैसाथ तालिम दिने क्षमता राख्छ।

यो तालिम केन्द्र अन्यभन्दा विशिष्ट छ किनकि यसमा आधुनिक सुविधा सहितको छात्रावास पनि छ, जसले गर्दा प्रशिक्षार्थीहरूलाई बसोबासका लागि अन्यत्र धाउनुपर्ने आवश्यकता हुँदैन।

प्रशिक्षण केन्द्र निर्माणका लागि ठूला लगानीकर्ताहरूको संलग्नताले स्थानीयस्तरमा रोजगारीका अवसरहरू बढाउने र युवाहरूलाई विदेश जाने सुनिश्चित तयारी गराउने लक्ष्य लिएको छ।

प्रशिक्षण केन्द्र सञ्चालनको मुख्य उद्देश्य स्थानीय युवाहरूलाई घरमै उच्चस्तरीय तालिम दिएर उनीहरूको सपनालाई साकार बनाउने हो।

हालसम्म रु पाँच करोड ५० लाख लगानी भइसकेको यो परियोजना सपना देख्ने मात्र होइन, त्यसलाई साकार पार्ने हिम्मत राख्ने युवाका लागि ठूलो अवसर हो।

अब लाहुरे बन्न चाहने युवाहरूका लागि यो तालिम केन्द्र माइलस्टोन सावित हुनेछ, जहाँबाट उत्कृष्ट प्रशिक्षण पाएर उनीहरूले बेलायती र सिङ्गापुरे सेनामा भर्ती हुने आफ्नो यात्रा सुरु गर्न सक्नेछन्।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update