
काठमाडौं - नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनमा अन्य चार जना अध्यक्षका उम्मेदवारलाई पछि पार्दै रोकाहाले जित निकालेका हुन् । उनले १०५३ मत पाएका थिए । उनका प्रतिद्वन्दी नेपाल विद्यार्थी संघका रविन वलीले ८६० मत पाएका थिए ।
यस्तै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का सलुन खड्का (रकेट)ले ५७ मत र संयुक्त प्यानल अखिल (क्रान्तिकारी) का काशीराम जैशीले १७९ मत पाएका छन् ।
यस्तै, सचिवमा नेविसंघका ज्ञानु दाहाल विजयी भएका छन् । उनले ९९४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी मिलन ओझाले ९२९ मत पाएका छन् । यस्तै, कोषाध्यक्षमा नेविसंघका शुसील खड्का विजयी भएका छन् । उनले १००७ मत पाएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका सौगात पुरीले ९९३ मत पाएका छन् ।
सदस्यहरूमा आठ जनाले जितेका छन् । सदस्यहरूमा अनेरास्ववियुका सातजना उम्मेदवारले जितेका छन् भने एक जना सदस्य नेविसंघले जितेको सचिवमा निर्वाचित दाहाले जानकारी दिए ।
सदस्यहरूमा रघीर कुमार मिश्र, दिपक कुमार यादव, मौसम आचार्य, कृतिका वडाल, रिदम थापा, अनुप कँडेल, लोकेश बुढा र रेजिना कडरिया विजयी भएका छन् ।
यस्तै समानुपातिक सदस्यमा अनेरास्विवयु (विशाल रोकाहा समूह) र नेविसंघले चार सदस्य जितेका छन् । अखिल क्रान्तिकारी र अनेरास्ववियुले एक/एक सदस्य जितेको निर्वाचन अधिकृत डा.गणेश भट्टराईले जानकारी दिए ।