Harsamaya
विदेशी भुमिमा चिरनिद्रा: तिलमायाको बाकसमा फर्किएका सपनाहरू
कावासोती नगरपालिका–४ हसौरामा तिलमायाको शव आएपछि शोकमग्न भीड ।

नवलपरासी - बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ हसौरामा शोकमग्न भीड जम्मा भइसकेको थियो। घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो। त्यो बाकसभित्र थियो, परदेशी भूमिमा श्रम बेच्न गएकी २६ वर्षीया तिलमाया सार्कीको चिरनिद्रामा सुतिरहेको शरीर।

घरको आँगनमा उभिएकी तिलमायाकी छोरी, ६ वर्षीया नातिनी, फेरि सोध्छिन्,‘हजुरआमा, ममी कहिले आउनुहुन्छ?’ तर, ७० वर्षीया हजुरआमा धनमायासँग कुनै उत्तर छैन। उनको आँखाबाट खसिरहेका आँसु मात्र उत्तर बनेर बगिरहेका छन्। बाँकी छिमेकीहरू मौन छन्। कोही भन्न सक्दैनन्,‘तिम्री ममी अब कहिल्यै फर्किनुहुन्न।’

तिलमायाले यो बाटो सहजै रोजेकी थिइनन्। श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीको राम्रो भविष्य बनाउने सपना देखेकी थिइन्। तर, गाउँमा रोजगारीको अवसर थिएन। आर्थिक अभाव बढ्दै गएपछि तिलमायाले परदेशिने निर्णय गरिन्।‘म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु,’ भन्दै वृद्ध आमाको जिम्मा छोरीलाई लगाएर उहाँ मलेसियातर्फ लागिन् । 

तर, तिलमायाले कल्पना गरेभन्दा बेग्लै नियति पर्खिरहेको थियो। गएको वैशाख २६ गते मातातीर्थ औँसीको दिन, जब उनले आमा धनमायासँग फोनमा कुरा गरिन्, कसलाई थाहा थियो त्यो अन्तिम संवाद हुनेछ भनेर? केही दिनपछि अप्रत्याशित रूपमा परिवारले एउटा हृदयविदारक खबर सुने –‘तिलमायाको हत्या भयो।’


तिलमायाको हत्या भएको खबरसँगै परिवार शोकमा डुब्यो। पाकिस्तानका एक नागरिकले उनको हत्या गरेको पुष्टि हुनै केही हप्ता लाग्यो। शव नेपाल ल्याउन सरकारी प्रक्रियाले ११ महिना लगायो। वृद्ध आमा धनमायाले छोरीको अन्तिम दर्शन गर्ने अठोट लिएपछि नै शव नेपाल ल्याउन सम्भव भएको हो।

गाउँभरिका मानिसहरू तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन जम्मा भए। परम्पराअनुसार अन्तिम संस्कार गरियो। ११ महिनासम्म वडा कार्यालय, नगरपालिका, सरकारी निकायहरूमा गुहार माग्दा पनि तत्काल शव ल्याउन सम्भव भएको थिएन। सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) को निरन्तर पहल र सञ्चारमाध्यममा समाचार आएपछि बल्ल शव नेपाल ल्याउन सम्भव भएको परामर्शदाता रञ्जना लम्सालले बताइन्।

शव नेपाल आइपुगे पनि पीडित परिवारले अझै राहत रकम पाउन बाँकी छ। वैदेशिक रोजगार बोर्ड र बीमा कम्पनीले राहत रकम दिने प्रक्रिया सुरु भइसकेको छ। अनुमानअनुसार १५–२० दिनभित्र राहत उपलब्ध हुनेछ। मलेसियामा अदालतको फैसलापछि मात्र हत्याराबाट क्षतिपूर्ति भराइनेछ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा मात्रै नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएका २० जनाले ज्यान गुमाइसकेका छन्। तिनमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ।

तिलमायाको कहानी नेपालका हजारौँ आमाहरूको प्रतिनिधि कथा हो, जसले छोराछोरीको सुखद भविष्यको लागि आफ्नो जिन्दगी दाउमा लगाउँछन्। तर, कहिलेकाहीँ परदेशी भूमिमा उनीहरूको सपना अधुरै रहन्छ। नेपालबाट रोजगारीका लागि जाने महिलाहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्न अझ धेरै काम गर्नुपर्ने देखिन्छ।

तिलमायाको बाकसमा फर्किएको शरीरले धेरै प्रश्न उठाएको छ – के हामी आफ्ना नागरिकलाई सुरक्षित राख्न सक्छौं? के वैदेशिक रोजगारीमा गएका नेपालीहरू उचित संरक्षण र न्याय पाउन सक्छन्? यी प्रश्नहरूको उत्तर खोज्ने जिम्मेवारी अब सरकारको हो।

अब, ६ वर्षीया छोरीको जीवन के हुने? यो प्रश्न भने अझै अनुत्तरित छ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update