म्याग्दी - यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
उनकाअनुसार यहाँबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । साथै म्याग्दी र बागलुङका बस्ती, बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुनादेखि मालिका धुरी जाने पदमार्ग दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को बासस्थान पनि भएको वडाअध्यक्ष रोकाले जानकारी दिए ।
मुना मालिकामा हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । यस क्षेत्रमा जालिका, मालिका र कालिका देवीका थान रहेका छन् । बुद्ध पूर्णिमाका दिन मुना मालिकामा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मालिका गाउँपालिकाको देविस्थान र धवलागिरिको मुनाका बासिन्दा यहाँ पूजाआजाका लागि आउने गर्छन् । पहिले यहाँ धार्मिक मेला र ठेलो फाल्ने प्रतियोगितासमेत हुने गरेको जानकारहरू बताउँछन् । यो मुनाका कृषकहरुको गाईभैँसी र भेँडाबाख्रा चरिचरन गराउने महत्वपूर्ण क्षेत्र पनि हो ।
धवलागिरिको केन्द्रसमेत रहेको मुनादेखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । यहाँ होटल तथा रेष्टुरेन्ट नभएकाले पाहुना, पर्यटक र भक्तजनले खाने र बन्दोबस्तीका सामान आफैँ लैजानुपर्ने हुन्छ । पछिल्लो समय यहाँको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले चासो देखाउन थालेको छ ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाअध्यक्ष रोकासहित जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयवासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रवद्र्धन कार्यक्रमसमेत गरिएको थियो ।
यसबाहेक यहाँ सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु २० लाख र गाउँपालिकाबाट १५ लाख बजेट विनियोजन गरिएको छ । यसको कार्यान्वयनबाट यहाँको विकासमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । सडक निर्माणपछि एक घण्टाभन्दा कम समयमा यहाँ यात्रा गर्न सकिने वडाध्यक्ष रोकाले बताए ।
यात्राअवधि र बाटो छोट्याउन, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ ।