काठमाडौं - चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ गरेको हो ।
पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।
उनी सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका थिए । २०७३ साल पौष १३ गते राजश्व छली सुन चोरी पैठारी मुद्दामा ७ केजी सुन सहित पक्राउ परेका थिए ।
विशेष सूचनाका आधारमा राजधानीको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
उनलाई अवैध तरीकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोबार गरेको हुदाँ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।