-1740565880.png)
दोलखा - जिल्ला प्रशासन कार्यालय दोलखाले सञ्चालन गरेको निःशुल्क राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने कार्यक्रमबाट एक महिनाको अवधिमा ६ सयभन्दा बढी लाभान्वित भएका छन् ।
नौ वटै स्थानीय तहको संयुक्त सहयोगमा सञ्चालित सो सेवाबाट एक महिनाको अवधिमा ६६४ जना लाभान्वित भएका कार्यालयका नासु हरिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीलाई सहज र निःशुल्क अनलाइन फाराम भर्ने काम कार्यालय अगाडिको गेटमै व्यवस्था मिलाइएको छ । यसअघि एक सय रुपियाँ तिरेर फाराम भर्नुपर्ने झन्झट समाप्त भएको छ। यहाँ फाराम भर्नेबित्तिकै राहदानी र राष्ट्रिय परिचयपत्र लिन सहज भएको छ ।
कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा तीन हजार ५४५ राहदानी र १२ हजार २८० राष्ट्रिय परिचयपत्र वितरण गरिएको न्यौपानेले बताए ।