Harsamaya
सिन्धुपाल्चोकमा स्ववियु निर्वाचन : चार क्याम्पसमा आज हुँदै, ६ वटामा निर्विरोध 
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन।

काठमाडौं - त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्ववियु निर्वाचन अन्तर्गत आज हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सिन्धुपाल्चोकका चार वटा क्याम्पसमा हुँदैछ।

स्ववियु चुनावमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनका नेपाली कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु बीच तालमेल गरेर चुनावी मैदानमा उत्रिदा माओवादीको अखिल क्रान्तिकारी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। 

आज चुनाव हुन लागेको चार क्याम्पस जसमा अरनिको क्याम्पस बाह्रबिसे  २७७ जना मतदाता रहेका छन् ।  अरनिको क्याम्पस बाह्रबिसेमा  सत्ता साझेदार दल (कांग्रेस -एमाले)गठबन्धन बाट नेविसंघका तुषार श्रेष्ठ  सभापतिका उम्मेदवार छन् भने अखिल क्रान्तिकारीबाट रोनिश श्रेष्ठ सभापतिका उम्मेदवार छन।

त्यस्तै १४२ जना मतदाता रहेको जलविरे भ्याली क्याम्पसमा पनि गठबन्धनबाट नेविसंघका राम विक सभापतिका उम्मेदवार छन् भने अखिल क्रान्तिकारीबाट अशोक ढुंगाना सभापतिका उम्मेदवार छन्।

त्यस्तै ३७१ जना मतदाता रहेको चौतारा बहुमुखी क्याम्पस अनेरास्ववियुबाट सुशील लोप्चन सभापतिका उम्मेदवार छन् । लोप्चन लाई नेविसंघले साथ दिएको छ भने अखिल क्रान्तिकारीबाट अमृत श्रेष्ठ सभापतिको उम्मेदवार बन्दा उनलाई एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको साथ दिएको  छ।

त्यस्तै मेलम्ची भ्याली क्याम्पसमा नेविसंघबाट रोशन गिरी सभापतिका उम्मेदवार छन् भने राजन विक अनेरास्ववियु क्रान्तिकारीबाट सभापतिका उम्मेदवार छन।

इन्द्रावती को २ क्याम्पसमा चुनाव नहुने

इन्द्रावती गाउँपालिका भित्र रहेको २ वटा क्याम्पसमा भने चुनाव नै नहुने भएको छ। इन्द्रावती गाउँपालिका भित्रका २ वटा क्याम्पस अभयनन्द र पाँचपोखरीमा निर्वाचन प्रक्रियामा जानलाई दल दर्ता नै नभएको र विद्यार्थीको सङ्ख्या न्यून भएकोले यहाँ चुनाव नहुने भएको हो। 

६ वटा क्याम्पसमा निर्विरोध 

१२ वटा क्याम्पस रहेको जिल्लामा ६ वटामा निर्विरोध नेतृत्व चयन भएको छ। जसमा अनेरास्ववियु एमालेले वर्चस्व कायम  गरेको छ। अनेरास्ववियुले सुनकोशी क्याम्पस, ठोकर्पा क्याम्पस, सिन्धु भ्याली क्याम्पस भोटेचौर, इन्द्रावती क्याम्पस मेलम्चीमा सभापति जितेको छ भने नेविसंघले ककलिङ क्याम्पस र अनेरास्ववियु क्रान्तिकारी ले जुगल बहुमुखी क्याम्पस साँगाचोकमा निर्विरोध सभापति जितेको छ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update