Harsamaya
एमालेले भन्यो: वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त उपलब्धिहरूलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो ।

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको विशेष प्रस्तावमा उल्लेख छ । बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

२१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक हो भन्नेमा बैठकले विशेष जोड दिइएको ज्ञवालीले बताए । 

त्यस्तै बैठकले लुम्बिनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाइको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरूको नाम अनुमोदन गरेको ज्ञवालीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update