
जुम्ला - कर्णाली प्रदेश सरकारले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरेको छ। प्रत्येक किसानलाई १८ हजारका दरले प्रदान गरिएको यो भत्ताले भेडापालनलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहनस्वरूप यो भत्ता प्रदान गरिएको हो। चालु आर्थिक वर्षमा ४५ लाखको बजेट भेडापालक किसानलाई टेवा दिन छुट्याइएको थियो।
जुम्लाका करिब १ हजार ७०० भन्दा बढी किसान भेडापालन व्यवसायमा संलग्न छन्। स्थानीय तहमा ८८ हजार ३०० भन्दा बढी भेडा पालिएको तथ्यांक छ। यसरी सरकारले आर्थिक सहयोग गर्न थालेपछि किसानहरू व्यवसाय विस्तार गर्न थप हौसिएको सिँजा गाउँपालिका–६ का सुवा रावत बताउँछन्।
सबैभन्दा बढी तातोपानी गाउँपालिकाका किसानहरूले भेडा पाल्ने गरेको पशु सेवा कार्यालयको तथ्यांकले देखाउँछ। अन्य पालिकाहरूमा पनि भेडापालन लोकप्रिय भए पनि उचित बजेट व्यवस्थापन, व्यवसायिकरण र बजार प्रवर्द्धनको अभाव रहेको कृषकहरूको गुनासो छ।