Harsamaya
को बन्ला नयाँ आईजिपि ?
ग्राफिम्स: हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आईजिपि) वसन्तबहादुर कुँवर आउँदो मंगलबार अनिवार्य अवकाशमा जाँदैछन्। यससँगै संगठनको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा प्रहरी वृत्तमा चर्चा चल्न सुरु गरेको छ । नयाँ आईजिपि चयनका लागि प्रतिस्पर्धामा रहेका तीन जना एआईजीहरू दीपक थापा, टेकबहादुर तामाङ, र सुदीप गिरीलाई मुख्य दाबेदारका रूपमा हेरिएका छन्। तर राजनीतिक खिचातानीले गर्दा अझै नयाँ आईजिपिको टुंगो नलागेको हो ।

प्रहरी संगठनमा व्यापक नेतृत्व अनुभव हासिल गरेका एआईजी दीपक थापा आईजिपि दौडमा बलियो दाबेदार मानिन्छन्। २० भन्दा बढी युनिटहरूको नेतृत्व गरिसकेका थापाले प्रहरी प्रशासन र अनुसन्धानमा उत्कृष्टता प्रमाणित गरिसकेका छन्। हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को नेतृत्व गरिरहेका उनले कमाण्ड कन्ट्रोलमा प्रभावशाली क्षमता देखाएका छन्।

यस्तै सरल स्वभावका इमानदार अधिकृतको रूपमा परिचित टेकबहादुर तामाङ प्रशासनिक दक्षता र अनुसन्धान क्षमताका कारण आईजिपिको बलियो प्रतिस्पर्धी बनेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख रहेका तामाङको अपराध नियन्त्रणमा कुशलता उच्च मूल्यांकन गरिएको छ।

कानुनमा एलएलएम गरेका गिरी बौद्धिकता, इमानदारी र निष्पक्ष छविका लागि चिनिन्छन्। २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिएका उनी विशेष अनुसन्धान र अपरेशनल कमाण्डमा अब्बल मानिन्छन्। संगठनभित्र निष्पक्ष कार्यशैलीका कारण उनी पनि आईजिपिको बलियो दाबेदार मानिन्छन्।

हाल ३० वर्षे सेवाहदका आधारमा नयाँ आईजिपिको कार्यकाल ६ महिनामात्र रहनेछ। तर, संसद्मा विचाराधीन प्रहरी ऐन संशोधन पारित भएमा यो अवधि २.५ वर्ष थपिन सक्ने सम्भावना छ। यसले नेपाल प्रहरीको नेतृत्वलाई दीर्घकालीन स्थायित्व दिन सक्छ।

नयाँ नेतृत्व चयनको अन्तिम निर्णय सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ। गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्भावित नामबारे ब्रिफिङ गरिसकेका छन्। अब सरकारको निर्णयले नेपालको प्रहरी संगठनको भावी दिशा तय गर्नेछ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update